गोरखा श्रीनाथमण्डली र रोट नेपाल ऋषि प्रज्ञा डा जगमान गुरुङ

गोरखाको सिरानचोक माथी डाँडाको टुप्पामा श्रीनाथकोट, श्रीनाथमण्डली आदि धार्मिक एवं ऐतिहासिक स्थलहरु छन्।श्रीनाथलाई महासिद्ध  योगी गुरु गोरखनाथको गुरु मानिन्छ।वास्तवमा गोरखाको श्रीनाथमण्डलीमा गाई गोठालाको घरमा  वैशाखशुक्लपूर्णिमाका दिन महासिद्ध योगी गुरु गोरखनाथको जन्म भएको हो।गो अथवा गाईको सेवा गरेर सिद्धि प्राप्त गरेको हुनाले गोरक्षनाथ-गोरखनाथ नामबाट प्रसिद्ध भई जन्मभूमिको नाम पनि गोरखा रहेको हो ।  गोरखा,सिरानचोकको  श्रीनाथमण्डलीमा जन्मनु भएका महासिद्ध योगी गुरु गोरखनाथले गोरखाको गोरखनाथगुफामा गई वज्रभैरवको साधना गरेर सिद्धि प्राप्त गर्नु भएको हो।महासिद्ध योगी गुरु गोरखनाथको शुभ आशिर्वादबाट द्रव्य शाह गोरखाका राजा भए।द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई अट्ठार जना गुरुङ उमराले साथ दिएका थिए।गुरु गोरखनाथ कै शुभ आशिर्वादबाट राम शाह पुण्यात्म राजा भए।  राजा राम शाहका आमा आज धादिङ , सल्यानकोटका माई त्रिपुरसुन्दरी र उनका रानी मनकामनाका रूपमा प्रसिद्ध छन्।राजा राम शाहले अर्जेको पुण्य र महासिद्ध योगी गुरु गोरखनाथको वरदानबाट पृथ्वीनारायण शाह नेपालका राजा भएका थिए । अत: यो नेपाल अधिराज्य महासिद्ध योगी गुरु गोरखनाथले धानेर राखेको छ।

गोरखाको सिरानचोकस्थित श्रीनाथमण्डलीमा प्रत्येक वर्ष मंसिर महिनामा न्वागीको अवसरमा विधिपूर्वक रोट चढाइन्छ।यो साल २०८१ मंसिर २ गते, आइतवार श्रीनाथमण्डलीमा रोट चढाउने कार्यक्रम छ।सिरानचोकलाई गुरुङ भाषामा सिराँ भन्दछ।त्यसकारण सिराँमा बसेका लामछाने गुरुङहरुको सिराँक्ह्रोँ पद रहेको छ।


यो सिरानचोक अघि द्रव्य शाहको पालाका गणेश पाण्डे,पृथ्वीनारायण शाहको पालाका झाँगल गुरुङ र रणबहादुर शाह र गीर्वाणयुद्ध वीर विक्रम शाहको पालाका बडाकाजी अमरसिंह थापाको थलो किलो हो । सिरानचोकको फेरोलाई बाह्र थरी र सात वराहले घेरेर राखेको छ । यी बाह्र थरी र सात वराह मध्ये सिरानचोक मौलोको जिम्मावाल सिरानचोक, थालाजुङ, रामच्येका कोके गुरुङ थिए । यी कोके गुरुङहरुका पुर्खा उमरा वीरभद्र कोके गुरुङ अघि द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा द्रव्य शाहसंगै लमजुङको पुरानोकोटबाट गोरखा आएका थिए।कुश्माकर घिमिरे र खजे दुराले कालु शाह र यशोब्रह्म शाहलाई लमजुङ , पुरानोकोटमा राजा थापेका थिए।शाह राजाहरु गाउँशहरतिर, घिमिरे बाहुनहरु बाहुनबेसीतिर र दुराहरु दुराडाँडातिर सरे पछि कोके गुरुङहरुले लमजुङ, पुरानोकोटको मौलो थामेको हो । अहिले पनि पुरानोकोटका कोके गुरुङहरुले पुरानोकोटको चण्डीथानमा शाह राजाहरुको पुस्तावली फलाकेर पूजा गर्दछन् ।


जङ्गबहादुर राणाको पालामा भोटको लडाईँ हुँदा भारत कोके गुरुङ सुबेदार थिए । भोटको लडाईँ जिते पछि उनी लप्टन भए।वीर शमशेर ज.ब. रा. को पालामा लप्टन भारत गुरुङ पल्टन हाँक्न सक्ने सैनिक अफिसरमा दरिएका थिए । यीनै उमरा वीरभद्र कोके गुरुङ र लप्टन भारत कोके गुरुङको वंशजले सिरानचोक मौलोको जिम्मावाली चलाई आएका थिए।मैले सिरानचोक मौलोका जिम्मावाल गोलबहादुर कोके गुरुङलाई भेटेको छु।अहिले जिम्मावाल गोलबहादुर कोके गुरुङका छोरा वीरसिंह कोके गुरुङ श्रीनाथमण्डलीका पूजारी हुनुहुन्छ।यसैगरी सिरानचोक मौलोका द्वारे त्हार- दर्लामी गुरुङ थिए । यी दर्लामी गुरुङका पुर्खा उमरा सबल दर्लामी गुरुङ अघि द्रव्यको पालाका अट्ठार जना गुरुङ उमरा मध्ये एक थिए । मैले सिरानचोक, उपल्लो  पामका मुखिया जमदार सनपसिंह दर्लामी गुरुङ र तल्लो पामका द्वारे  माहिला टंकमान दर्लामी गुरुङलाई भेटेको छु । यसरी नेपालको राजनीति र संस्कृतिको संरक्षण र संवर्द्धनमा गुरुङहरुको महत्त्वपूर्ण भूमिका रहेछ । अत: आजका गुरुङ महोदयहरुले  नेपाल राष्ट्रको निर्माणमा गुरुङहरुको योगदानलाई राम्ररी बुझ्न सक्नु पर्दछ ।

आज गोरखा,सिरानचोकको श्रीनाथमण्डलीमा अर्पण गरिने रोट कार्यक्रममा प्रमुख अतिथीको  निम्तो पाएर पनि निम्तो मान्न आउन नसकेकोमा सबैसंग क्षमा प्रार्थी छु र कार्यक्रमको सफलताको कामना गर्दछु ।

जय गोरख !!

No comments:

Post a Comment