गोरखाको एउटै गाविसमा सयबढी इन्जिनियर

मिति : २०७० मंसिर २७, बिहीबार 

‘ठ्याक्कै तथ्यांकचाहिँ कसैले तयार गरेको छैन तर पालुङ्टार क्षेत्रमा इञ्जिनियरको संख्या अहिले एकसय नाघिसकेको छ’ सोही क्षेत्र घर भई अहिले बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिका अध्यक्ष समेत रहेका इञ्जिनियर डा. लक्ष्मी देवकोटा भन्छन् ‘एउटै घरमा दुईजना, तीन जनासम्म इञ्जिनियर छन् ।’
यहाँका इञ्जिनियरहरु देश र विदेशमा बराबरी जस्तै रहेको उनी बताउँछन् । यहाँका इञ्जिनियरहरु राष्ट्रिय योजना आयोगका उपाध्यक्षदेखि बिभिन्न बिभागका उपमहानिर्देशक जस्ता ठूला पदहरुमा पुगिसकेका छन् ।
ठूला राजनीतिज्ञ राजेश्वर देवकोटा, पूर्व मन्त्री विद्यादेवी देवकोटा लगायतले बाटो देखाइदिएका कारण पनि यस क्षेत्रमा इञ्जिनियर, डाक्टरको संख्या उल्लेख्य भएको लक्ष्मी
देवकोटाको भनाइ छ । ‘सबैभन्दा धेरै इञ्जिनियरै छन्। कृषि प्राविधिक, डाक्टर पनि धेरै नै छन्’ देवकोटाले भने।
यस क्षेत्रको नाम चलेको लुईँटेलस्थित अमरज्योति जनता उच्च माविमा युनाइटेड मिसन टु नेपालका भोलेण्टियर शिक्षकले पढाउने गरेको र उनीहरुले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा इञ्जिनिर, डाक्टर बन्न प्रेरित गरेको उनले बताए । ‘सबै विद्यार्थी फस्ट डिभिजनमा पास गर्थे, अनि मिसनका भोलेण्टियर शिक्षकहरुले काठमाण्डौंमा लगेर डाक्टर, इञ्जिनियर पढ्नका लागि छात्रवृत्ति दिने गर्थे’ डा. लक्ष्मी देवकोटाले भने ।
यति धेरै इञ्जिनियर उत्पादन गर्नुमा यहाँको लुइँटेल स्कूलको प्रमुख योगदान रहेको सोही विद्यालयका प्राचार्य गोविन्द खनालको तर्क छ। ‘लुइँटेल स्कूलबाट उत्पादन भएका विद्यार्थीहरु मात्रै करीब एकसय ५० जना इञ्जिनियर भइसकेका छन्’ उनी भन्छन् ‘मैले पढाएको मात्रै पनि करीब ६० जना इञ्जिनियर भइसकेका छन्।’ यहाँ पढ्ने विद्यार्थीहरु सात आठ कक्षादेखि नै पढेपछि कि इञ्जिनियर हुने कि डाक्टर हुने भन्ने लक्ष्य राख्ने परम्परा रहेको उनी बताउँछन्।
‘यहाँका यति धेरै इञ्जिनियरको जननी लुइँटेल स्कूल हो’ प्राचार्य खनाल भन्छन् ‘नाम चलेको स्कूल, यहीँ पढेर पूर्व प्रधानमन्त्री बोर्डफस्ट हुनु भएको । धेरैजसो सबैले फस्ट डिभिजन ल्याउने । अनि सिनियरहरु सबै पुल्चोक क्याम्पस जाने गरेकाले पछिल्ला पुस्ताका विद्यार्थी पनि त्यतैतिर जाने भइहाले । गणित, विज्ञान र अंग्रेजीमा राम्रो नम्बर ल्याउनेहरुलाई पुल्चोक क्याम्पसले पनि नाम निकाल्ने गरेकाले यति धेरै इञ्जिनिर भएका हुन्।’ इञ्जिनियरहरुमा पनि धेरैले पीएचडी गरेका, धेरै जना अमेरिका, रुस जस्ता विकसित मुलुकमा काम गरिरहेका उनले बताए ।
पालुंटार क्षेत्रबाट इञ्जिनियर जस्तै डाक्टर पनि उल्लेख्य रहेको अर्का इञ्जिनियर सरोज देवकोटा बताउँछन्। ‘डाक्टर उपेन्द्र देवकोटा यही क्षेत्रका हुनुहुन्छ’ उनी भन्छन् ‘जिल्लाकै सबैभन्दा पहिलोपल्ट २०२५ सालतिरै एमबीबीएस गर्नु भएका राजेश्वर देवकोटाका छोरा जगदिश्वर देवकोटा यहींको हुनुहुन्छ। यहाँका विद्यार्थी र अभिभावकहरुमा पढेपछि डाक्टर, इञ्जिनियर हुनुपर्छ भन्ने छाप छ । अनि राम्रो डिभिजन ल्याउँछन् र डाक्टर, इञ्जिनियरमा पहल गर्छन्। नाम निकालिहाल्छन् ।’
पालुंटार क्षेत्रमा २०३०/०३१ सालदेखि नै इञ्जिनियर बन्न थालेको पालुंटारकै भवानी उच्च माविका प्राचार्य उमाकान्त देवकोटा बताउँछन्। ‘सरोज देवकोटा २०३२ सालमा इञ्जिनियर बन्नु भएको हो’ उनले भने ‘विशेष गरी पालुंटार गाविसको बड्डाँडा, बोहोरागाउँ, माल्तीगैरा, बारपिर्के, अर्चले लगायतका गाउँका घरैपिच्छे जस्तो इञ्जिनियर छन्।’
पालुङ्टारको प्रभावले छिमेकी आँपपीपल, गाईखुर र खोप्लाङ्ग गाविसमा पनि धेरै इञ्जिनियर रहेको योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पालुंटारका दिनेशचन्द्र देवकोटाको भनाइ छ । उनका अनुसार तीन हजार नौसय १५ गाविस रहेको नेपालमा करीब २२ हजार इञ्जिनियर छन् । यो हिसाबले पनि एउटा गाविसमा सरदर छ जना इञ्जिनियर पर्छ ।

No comments:

Post a Comment