तमू जाति र ल्होछारको ऐतिहासिकता

आनन्द गुरुङ नेपाल बहुजातीय, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । नेपालमा एक सय तीन जातजाति र ९३ भाषाभाषी भएको नेपाल सरकारको २००१ को जनगणना तथ्याङ्कमा उल्लेख छ । जसमध्ये गुरुङ जाति एक हो । प्रकृतिपूजक, मिलसार, मृदुभाषी गुरुङहरू मध्य एसियाका रैथाने हुणहरूकै एक वंश भएको विश्वास गरिन्छ । मध्य एसियाबाट चीन, तिब्बतहुँदै नेपाल–तिब्बतको सिमाना उच्च हिमाली क्षेत्रमा पर्ने मनाङको ‘फू’ गाउँ नै गुरुङहरूको सुरुको मूलथलो भएको एकथरी विद्वान्हरूको मत छ भने अर्काथरी विद्वानहरू मनाङ, कास्की र लमजुङको सिमानामा अवस्थित क्होँ लासोंथर गुरुङ (तमू)हरूको सभ्यताको उद्गम स्थल मान्दछन् ।
चाड पर्व तमू जातिको आफ्नै रीतिरिवाज, चाडपर्व र परम्परा अझैसम्म जीवित छन् । तमूको पुख्र्यौली धर्म, बोन धर्म अनुसार तमूहरूको चाडपर्वहरूमा ल्होछार (पुस १५), माँङी त्हेँ (माघे संक्रान्ति), खे कु त्हेँ (फागू पूर्णिमा), चैत र साउनको तीन मंगलबार (ट्हो त्हेँ) गाउ“ बार्ने, खेकु माँङी थेब त्हेँ (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (साउन संक्रान्ति), ख्योदो म्हाँमै त्हेँ (भदौ पूर्णिमा) आदि हुन् । तर मूल चाड भने ल्होछार हो । ल्होछार (नयाँ वर्ष) ल्होछार तमू जातिको सामाजिक पर्व हो । ल्होछार शब्दको व्युत्पत्ति द्ुई शब्दहरू ल्हो (वर्ग) र छार (नयाँ)बाट भएको हो । ल्हो परम्परा कहिलेदेखि सुरु भयो, यकीन साथ भन्न सकिने स्थिति छैन । तर के दावी गर्न सकिन्छ भने नयाँ बर्ष मनाउने परम्परामा यो संसारको सबैभन्दा पुरानो प्रचलन हो । ईसापूर्व २६३७ मा चीनको सम्राट हुवाङ चीको पालामा चिनिया चन्द्रपात्रो सुरु भयो र उनको शासनको ६१औं बर्षमा प्रथम ६० बर्ष चक्र सुरु भयो । आजभन्दा ४७०६ वर्ष पहिले नै यो परम्परामा पात्रो निर्माण्ँ भएसँगै ल्होछार मनाउने चलन सुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालका गुरुङलगायतका जनजातिले कहिलेदेखि ल्होछार मनाउन सुरु गरे, त्यो पनि भन्न सकिन्न । ल्हो पद्दतिको उत्पत्ति मंगोलियाको उर्गिस्तानमा भएको र त्यसको विकास भने चीनमा भएको तथ्य पाइन्छ । अन्य जातिको ल्हो इतिहास र घटनासँग सम्बन्धित देखिन्छ तर तमू जातिको ल्हो भने अङ्ग्रेजी नयाँ वर्ष र बेदाङ ज्योतिषमा आधारित वैदिक संवतसित अत्यन्त निकट भएको भनाई सह–प्राध्यापक डाक्टर जगमान गुरुङको छ । तमू ल्होछार चाड प्राकृतिक विधिविधान र सौर्य मण्डलको गतिसँग सम्बन्धित छ । यस विधिमा दिन, महिना, ऋतु र वर्षको गणना गर्ने भएकाले ईस्वी संवत्सँग पनि मिल्दोजुल्दो छ । ज्योतिषशास्त्र अनुसार १२ वटा पशुपन्छीको नाममा बाह्र वर्षको एउटा ल्होकोर (वर्गचक्र) हुन्छ । यही ल्होकोर अनुसार प्रत्येक वर्ष पुस १५ गतेका दिन नयाँ वर्ग (ल्हो) फेरिन्छ । वर्गचक्र फेरिने दिनलाई ल्होछार, नयाँ वर्ग अर्थात् नयाँ वर्ष भन्दछ । ल्होकोर (वर्गचक्र)मा समावेश भएका पशुपन्छीहरू क्रमैसँग– चि ल्हो (मुसा वर्ग), ल्वाें ल्हो (गाई वर्ग), तो ल्हो (बाघ वर्ग) हि ल्हो (बिरालो पर्ग), सप्री ल्हो (नाग पर्ग), मुप्री ल्हो (गरुड वर्ग), त ल्हो (घोडा वर्ग), ल्हु ल्हो (भेंडा वर्ग), प्र ल्हो (बा“दर वर्ग), च्या ल्हो (चरा वर्ग), खि ल्हो (कुकर वर्ग), फो ल्हो (मृग वर्ग) हुन् । यसरी ल्हो फल अनुसारको वर्ग चक्रमा १२ वटा जनावरहरूको नामबाट ल्हो चक्रको गन्ति गरिन्छ । एउटा चक्र सकिएपछि त्यसलाई एउटा ल्होकोर मानिन्छ । अर्थात् एउटा ल्होकोरमा १२ वर्षको समय समाप्त भएर १३ वर्षमा उक्लिन्छ । यसरी वर्ष गणना गर्दा प्रत्येक वर्षको पुस १५ को दिनमा पुरानो वर्ग जाने र नयाँ वर्गको प्रवेश ह्ुन्छ । यसै दिनलाई गुरुङहरूले नयाँ वर्षको रूपमा ‘ल्होछार’ मनाउने गर्छन्् । यस पर्वमा आफ्नो परम्पराअनुसार पच्यू, क्लेप्री र लामागुरुहरूलाई बोलाई पूजापाठ गरी ग्रह शान्ति गर्ने, मीठोमसिनो खाने, राम्रो लाउने र रमाइलो, सांस्कृतिक कार्यक्रम गरी धुमधामसँग मनाउने प्रचलन छ । यो ल्होछार मनाउने विधिविधानमा गाउँ, ठाउँ र समाज अनुसार केही भिन्नता देखिए पनि म्ूल विषय वस्तुमा भिन्नता छैन । पूर्वीय मान्यताअनुसार रातको १२ बजेबाट नयाँ दिनको सुरुवात हुने र सूर्य उदयसँगै दिन सुरु हुन्छ भन्ने मान्यता छ । त्यसैले ल्होछार पनि पुस १४ गते राति १२ बजेबाट सुरु हुन्छ । ल्होछारको अवसरमा रातको १२ बजे धार्मिक गुरुहरू (पच्यूले छ्योबा त्हे“ र क्लेप्रीले पूजापाठ गरी)ले पुरुषलाई नौसरो, नौ गाँठो (ख्येकु) र महिलाहरूलाई सात सरो र सात गाँठो (माङी) नाममा बेसार र खरानीमा रंगाएको धागो गलामा लगाई सुख शान्ति र समृद्धिको कामना गर्दै आशिमला“ (शुभकामना) भन्दै शुभकामना आदानप्रदान गर्दछ । त्यसैगरी ल्होछारका दिन घ्यू दीप बाले कुलपितृलाई चोखो पानी, अक्षेता, चोखो खाद्यान्नको परिकार, रक्सी र फलफूल राखी सिमेभूमेको पूजा गर्ने गरिन्छ । पूजापाठ गरी सकेपछि राम्रो लुगा लगाई मीठो खानेकुरा बनाई आफू आफन्तहरूसँग सहभोज गर्दछ । तमूहरू ल्हो कै आधारमा शुभ–अशुभ साइत हेर्ने, लगन जुराउने आर्थिक कारोबार गर्ने, जग्गा जमिन खरिद गर्ने र घरको जग राख्ने काम समेत गर्ने गर्ने गर्छन् । तमूहरूले ल्होछार कहिलेदेखि, किन र कसरी मनाउन थाले भन्ने कुनै ऐतिहासिक र ठोस प्रमाणहरू छैन र कसैले भन्न सक्ने अवस्था पनि छैन । तर नेपालमा पञ्चायती शासन व्यवस्था र त्यसअघि तमूहरूले ल्होछार आ–आफ्नै समूह र गाउँघरमा मनाउथे । काठमाडौंमा २०३३ सालमा गठन भएको तमू धींको आयोजनामा २०३६ सालमा लैनचौरस्थित शान्ति विद्या गृहमा पहिलो सामूहिक ल्होछार आयोजना भएको व्यवसायी एवम् समाजसेवी रामकाजी कोनेको भनाइ छ । २०४६ साल भदौमा तमू बौद्ध सेवा समितिको गठन भएपछि ल्होछारले विस्तारै महत्व र स्थान पाउन थाल्यो । समितिकै अग्रसरतामा फेरि राजधानीमा सामूहिक ल्होछार मनाउन थालियो । २०५४ सालमा राजधानी गुरुङ सेवा समिति, रूम्जाटार गुरुङ सेवा समितिलगायतका संघ–संस्थाको आयोजनामा अझ बृहत र सामूहिक ल्होछार मनाइयो । तत्कालीन तमू समन्वय परिषद्को संयोजकत्वमा २०५८ सालमा ललितपुरको पुल्चोकस्थित भूपू सैनिक संघको भवनमा अझ बृहत सामूहिक ल्होछार मनाइएको थियो । जुन ल्होछार अहिले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरहुँदै अहिले टँुडिखेलसम्म पुगेको छ भने २०५८ सालबाट गुरुङ जातिलाई मात्र बिदा दिईदै आएकोमा गणतन्त्रपछि ल्होछारको दिन सार्वजनिक बिदा दिन थालिएको छ ।

No comments:

Post a Comment