भूकम्पले भत्किएका घर आफैंले बनाउनु पर्ने तीन किस्तामा पिडीतको खातामा रकम-

९ फागुन, काठमाडौं । के तपाई भूकम्पले भत्किएको आफ्नो घर सरकारले बनाइदिन्छ भनेर ढुक्कसँग बस्नु भएको छ ? यदि छ भने त्यसरी नबस्नुहोस् ।
किनभने भूकम्पले भत्किएको तपाईको घर तपाई स्वयंले बनाउनुपर्ने भएको छ । भूकम्पपछिको पुनर्निनिर्माण गर्न सरकारले गठन गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले घरधनी स्वयंले भूकम्पले भत्किएको घर पुननिर्माण गर्नुपर्ने नीति आइतबार सार्वजानिक गरेको छ ।
‘निर्माण सामग्रीको पहुँच बढाउनुका साथै आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराई ग्रामीण र सहरी क्षेत्रका निजी घर तोकिएको मापदण्ड अनुरुप घरधनी स्वयंले नै निर्माण गर्ने,’ प्राधिकरणले सार्वजनिक गरेको नीतिमा भनिएको छ ।
तर, एकल महिला, बालबालिका, अपाङ्गता भएका
व्यक्ति तथा ज्येष्ठ नागरिकमात्र भएको परिवारलाई समुदायको सहयोगमा घर निर्माण गर्न प्रोत्साहन गरिने छ । ग्रामीण र अर्ध-सहरी एवं सहरी क्षेत्रमा स्थानीय व्यक्तिहरु समेतको सहयोगी समूह एवं सामुदायिक संस्था/गुठी बनाई पालैपालो घर निर्माण गर्न अभिप्रेरित गर्ने प्राधिकरणको कार्यनीति छ ।
तीन किस्तामा रकम पिडीतको खातामा
सरकारले घोषणा गरेको घर निर्माण अनुदानबापतको २ लाख रुपैयाँ प्राधिकरणले घरधनीलाई तीन किस्तामा दिने छ । जसअनुसार पहिलो किस्ता नक्सा पाससहित सम्झौता गर्दा २५ प्रतिशत अर्थात ५० हजार रुपैयाँ दिइने छ ।
जग हालेर प्राबिधिक चेक जाँच सम्पन्न भएपछि दोस्रो किस्तास्वरुप ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ दिइने छ । छाना छाउनु अगाडी तेस्रो एवं अन्तिम किस्ता अर्थात् ७० हजार रुपैयाँ दिइने छ ।
घरधनीलाई रकम बैंकिङ प्रणालीमार्फत् खातामा जम्मा गरिदिने छ । जसका लागि हरेक गाउँमा एउटा बैंकिङ कार्यालय वा शाखारहित बैंकिङ सेवाको सुरुवात गरिने छ ।
त्यस्तै, पुननिर्माण गर्दा स्थानीय स्रोत, सामग्री र सीपको दीगो प्रयोग गर्ने, सम्बद्ध घरधनीले निजी क्षेत्रमार्फत बनाइएको घरमा बस्न चाहेमा भूकम्प तथा अन्य प्राकृतिक प्रकोप प्रतिरोधी निर्माण विधि अवलम्बन गर्ने कुराको सुनिश्चित गर्नुपर्ने छ ।
प्राधिकरणले सार्वजानिक गरेको नीति अनुसार पुनर्निर्माण गर्दा स्वदेशभित्र उत्पादन हुने गुणस्तरयुक्त जस्तापाता, सिमेन्ट, फलामे छड जस्ता निर्माण सामग्रीलाई प्रोत्साहन गरिने छ ।

No comments:

Post a Comment