बेलायती सेनाका कार्यरत सैनिक जवानहरुले गोरखा जौबारीमा भूकम्बाट ध्वस्त भएको एक विद्यालय निर्माण गरेका छन् । सेनामा कार्यरत बेलायती नागरिकसहित नेपाली युवाले जौबारी ५, चिप्लेटीडाँडास्थित जनज्योति उच्च माविको भवन निर्माण गरेका हुन् । विद्यालय भवन निर्माणकालागि बेलायती सेनाको एल टुकडी ७० गोर्खा फिल्ड स्क्वाड्रन, द क्वीन्स् गोर्खा इन्जिनियर्सको टोली खटेको थियो ।
लेफ्टिनेन्ट जोन्सको नेतृत्वमा खटिएका ३० जनाको टोलीले एक महिनाको अवधिमा ६ कोठे भवन निर्माण गरेका हुन् । उनीहरुले आमा समूहको मातहातमा
रहने गरि ३ कोठे सामुदायिक भवनको पनि निर्माण गरेका छन् । सार्जन्ट विरेन्द्रकुमार काङबाङका अनुसार ‘प्रि फेब्रिकेटेड’ सामग्री र प्रविधिबाट भवन निर्माण गरिएको छ ।
बेलायती संस्था गोर्खा वेलफेयर ट्रष्ट (जिडब्ल्यूटी) को सहयोगमा गोर्खा वेलफेयर स्कीम (जिडब्ल्यूएस) इकाई कार्यालय गोरखाले सो भवन निर्माण गरेको हो । ‘बैशाख १२ गते भूकम्पले विद्यालय ध्वस्त बनाएपछि बनाईदिन आग्रह गर्दै १७ ठाउँमा निवेदन दियौँ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्छर बहादुर थापामगरले भने, ‘जिडब्ल्यूएस र गोर्खा फाउण्डेसनले हाम्रो माग सम्बोधन गर्यो । बेलायतबाट लाहुरेहरु आएर विद्यालय बनाए’ ।
विद्यालयका प्रधानाध्यापक मुनप्रसाद देवकोटाका अनुसार भूकम्पले विद्यालयको १४ कोठे भवन सवै ध्वस्त बनाएको थियो । भूकम्पले विद्यालय भवन भत्किएर विद्यार्थी पढ्नबाट बञ्चित भएको खबरले स्तब्ध बनाएपछि स्वदेश फर्केर विद्यालय भवन निर्माणमा जुटेको सार्जन्ट विष्णु गुरुङले बताए । ‘घटना सुन्दा दु:ख लाग्यो । विपद्को बेला आफ्नै देशको सेवा गर्नुपर्छ भन्ठान्यौँ र आयौँ’ उनले भने, ‘हाम्रो साथ स्थानीयले पनि धेरै श्रमदान दिए । सवै निर्माणमा जुट्यौँ र सफल भयौँ ।’
No comments:
Post a Comment