गोरखा दुर्गम क्षेत्रका महिलालाई एक हजार पाँच सय बाटो खर्च

गोरखा, चैत  २०– गोरखाको उत्तरी दुर्गम गाविसमा बसोबास गर्दै आएका महिलाले स्वास्थ्य संस्थामा पुगेर सुरक्षित सुत्केरी गराएमा रु एक हजार ५०० बाटो

खर्च पाउने भएका छन् । सुगमका महिलालाई रु एक हजार बाटो खर्च दिइन्छ । दुर्गमका महिलालाई नियमित स्वास्थ्य जाँचका लागि बानी पार्नका लागि रु ५०० थप गरिएको हो । गर्भवती भएकाले चार, छ र नौ महिनामा स्वास्थ्य संस्थामा पुगेर
आफ्नो स्वास्थ्य जाँच गराउने गरेका छन् ।

बाटो खर्च उपलब्ध गराउन थालेपछि सदरमुकामदेखि टाढाको दूरीमा रहेको स्वास्थ्य संस्था, बर्थिङ सेन्टरमा पनि सुत्केरी गराउनका लागि महिला आउने गरेका छन् । गत वर्षको तुलनामा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखाका ३८ प्रतिशत महिलाले यो वर्ष स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएका छन् ।
साठी गाविस र दुई नगरपालिका रहेको गोरखाको विभिन्न ३५ स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी गराइन्छ । कार्यालयले थप केही ठाउँमा यस आर्थिक वर्षभित्रै बर्थिङ सेन्टर सञ्चालनको तयारी गरेको छ । च्याङ्ली, धावा र आरुआर्वाङ्ग गाविसमा बर्थिङ सेन्टर स्थापनापछि त्यस क्षेत्रका महिलाले सुरक्षित सुत्केरी गराउन सजिलो हुने कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए  ।
स्थानीय महिलालाई सुरक्षित प्रसूति सेवा स्थानीयस्तरमै उपलब्ध गराउन कार्यालयले थप बर्थिङ सेन्टरलाई गाउँ–गाउँमा विस्तार गर्ने तयारी गरेको अधिकारीको भनाइ छ । जनस्वास्थ्य कार्यालयअन्तर्गतका स्वास्थ्य संस्थाले २४ सै  घन्टा कार्यालय सञ्चालनमा ल्याएर गाउँलेलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।

No comments:

Post a Comment