गाउँमा ५ करोडको रिसोर्ट


गाउँमा ५ करोडको रिसोर्ट


गोरखा - पर्यटकका लागि उपयुक्त होटल कम र भएकामा पनि पर्याप्त सेवा, सुविधा नहुँदा गोरखामा पर्यटक टिक्न र टिकाउन नसकिरहेका बेला पाँच करोड रुपैयाँ लगानीमा विदेशी पर्यटक लक्षित रिसोर्ट बनिरहेको छ। गोरखा नगरपालिका–८ लक्ष्मीबजारको शिखरडाँडामा गोरखा गाउँ रिसोर्ट निर्माण भइरहेको छ। पोहोर असोजदेखि २८ रोपनी जग्गामा निर्माण भइरहेको उक्त रिसोर्ट आउँदो कात्तिकसम्ममा सञ्चालनमा ल्याउने
सञ्चालकमध्येका एक केशव कुँवरले बताए। उनले भने, 'तीन करोड रुपैयाँ खर्च भइसकेको छ, भौतिक संरचना निर्माणको काम सकियो, बाँकी काम गर्न दुई करोड लाग्छ।'

पृथ्वीनारायण शाहदेखि अन्य थुप्रै धार्मिक र ऐतिहासिक महत्व बोकेको गोरखा घुम्न आउने विदेशीको बसाइ लम्ब्याउने उद्देश्यले होटल खोल्न लागेको कुँवरले बताए। जिल्ला भित्रिएका पर्यटकले बास बस्न पोखरा, बन्दिपुरलगायत ठाउँ रोज्ने गरेका छन्। यहीँ राख्न सके आम्दानीको स्रोत बढ्ने रिसोर्ट सञ्चालक बताउँछन्।
यो रिसोर्ट गोरखामा सञ्चालित होटलभन्दा फरक छ। छानामा टिन र अन्त सबै ढुंगा, माटोको प्रयोग गरिएको रिसोर्ट सदरमुकामको मुख्य बजारबाट करिब पाँच किलोमिटर टाढा पर्छ। निर्माणको क्रममा आवश्यक ढुंगा जिल्लाको बुङकोट, कुसुण्डे, तीनकिलो, मान्द्रेढुंगाबाट ल्याइएको कुँवरले बताए। होटलमा ६ वटा डबल र चारवटा सिंगल कटेज छन्। ३० मिटरको फरकमा कजेट बनाइएको छ। कन्फ्रेन्स हल, रेस्टुरेन्ट पनि बनिसकेको छ। स्विमिङ पुल पनि बनाउने योजना छ।
सञ्चालक कुँवरले भने, 'पाँचतारे होटलमा बसेर आएका विदेशी पर्यटकलाई कुनै पनि कुराको कमी महसुस हुन नदिने गरी होटलको संरचना र व्यवस्थापन गर्छौं।' होटल नियमित सञ्चालनमा आएपछि २० जनाभन्दा बढीले प्रत्यक्ष रोगजारी पाउँछन्। होटल सञ्चालनमा आएपछि गोरखा आउने विदेशीले स्तरीय सेवा पाउने कुँवर दाबी गर्छन्। गोरखाका कुँवरबाहेक काठमाडौंका सलिल अर्याल र चितवनका पुस्करलाल श्रेष्ठले कटेजमा लगानी गरेका छन्।  

No comments:

Post a Comment